| |

आलु कविता
- लक्ष्मण गाम्नागे

आलको भाऊ सुनेर फन्किनु पर्दैन प्रिए
दालको दाम सुनेर रन्किनु पर्दैन
शहर पस्ने तिम्रै रहर हो
जहर पिउने ति म्रै इच्छा हो
म त के हुँ र !
मात्र तिम्रो छाया मन्त्री
ति म्रो भुँडी भरिए म अघाउने हो
तिमी नाङ्गिए न म लजाउने हो
डाडु नउठाऊ प्रिए, कुचो नचलाऊ
बरु आऊ, भात बसाऊ
छरछिमेकीलाई छकाऊ
छोराछोरीलाई फकाऊ
अहिले आलु र मूला पकाऊ,
भरे मूला र आलु पकाऊ ।

दसैँ आउन लागेको छ
भाऊ बेसाहा जागेको छ
सारी भन्थ्यौ
यसपटक पारी किनिराखौँ,
आगौँ सारी किनौँला
यो वर्ष इँजार किनिराखौँ,
परागौँ सुराल किनौँला
सुनको भाउ सुन्दै बेहोस होइएला जस्तो हुन्छ प्रिए
सकेसम्म फुली,
नसके पनि
कानेगुजी कोट्याउने कन्कर्नो धरोधर्म किनिदिउँला
छोराको हिपहप प्यान्टका बारेमा
उसकै अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरिदिउँला
नयाँ नेपाल बनेछ बाइचान्स् कुनै दिन भने
छोरीलाई पनि व्यूटी पार्लर अबस्य पठाउँला ।
सम्विधान निर्माणको मुखैमा आएर
अनुहारमा कालो झण्डा नदेखाऊ ए प्रिए !
स्टोभ हल्लाऊ, सिलिन्डर ढक्ढक्याऊ
अहिले आलु र मूला पकाऊ,
भरे मूला र आलु पकाऊ ।

तिमीलाई मात्रै कत्ति हेर्नु मैले खालि
आफूलाई पनि एउटा चश्मा किन्नु छ यसपाली
यस्तो तिलश्मी चश्मा
कि लगाएर हेर्दा-
चोकमा थु प्रिएको आचीलाई गोबर देखियोस्
गोवरलाई गुँदपाक देखियोस् ।

आऊ,
पचास दलहरूले दुइसय पचास थरिका धारणा मिसाएर
नयाँ नेपालको सपना पकाएजस्तै
खिचडी पकाऊ
र छोराछोरीलाई खीर भनेर छकाऊ
मुख फेरी फेरी खाऊ प्रिए
एकबारको जुनीमा तमासा हेरी हेरी जाऊ
अहिले आलु र मूला पकाऊ,
भरे मूला र आलु पकाऊ ।

उसबेलाको कुरै अर्को थियो
प्रेममा नून पूरै चर्को थियो
तिमी मलाई मेरो राजा भन्थ्यौ
म पनि होला ता नि भन्थे
लहैलहैमा मैले पनि
कहिले हृदयकी रानी भने हुँला, कहिले आकाशकी जून
कहिले पाउजूको कुरा गरेँ हुँला, कहिले कानको सून
तिमीले मेरो खुइलिएको तालुलाई
कति राम्रो छिप्पिएको आलुजस्तो भनेर प्रशंसा गर्दा
मैले पनि तिम्रो गालाको पोतोलाई
कति राम्रो बादलको सोतो जस्तो भनेर खोकेँ होला ।

प्रिए,
वैशको उन्माद र नेताको आश्वासन
जँड्याहाको अंग्रेजी र बौलाहाको भाषण
त्यही संझिदेउ प्रिए, एकै ठानिदेऊ
मलाई माफ गरिदेऊ ।
लौन भोक लाग्यो, घरभित्र आऊ
मिट मसाला हालेर मूलालाई मासु बनाऊ
मलाई उल्लु बनाऊ र थप्पडी मारेर रमाऊ
अहिले आलु र मूला पकाऊ,
भरे मूला र आलु पकाऊ ।

आऊ,
संसार भुलेर हामी एकछिन आनन्दमा डुबौँ
तिमी बिर्स अभाव, अनिकाल, महङ्गी र रोग
छोराछोरी बिर्स किताव, स्कूल, हड्ताल र भोक,
म बिर्सन्छु सरकार, सिमाना र देश
हामी बिसौँ, सबै दुख बिर्सनु नै बेश ।

सप्पैथोक बिर्सिएर एकछिन हामी मनोरन्जन गरौँ
तिमी पुन्यूले ठोकेर रित्तो कसौँडी बजाऊ
म छिँडीको यस मनोरम कोठामा हङ्ग्री डान्स गर्छु
छोराछोरीहरू एकअर्काको करङ्मा सारङ्गी बजाऊ
बेस्कन नाचौँ हामी खलखली पसिना निकालौँ
दाह्रा किटेर भाँडा बजाऔँ हामी
भएभरको आक्रोस निखारौँ
प्रिए, अर्थोक के गर्न सक्छौँ हामी ?
त्यो पनि बताऊ
लौ न
आन्द्राले झुत्ति खेल्न थाले जस्तो छ
बासी भात तताऊ प्रिए, बासी भात तताऊ
तर हामीलाई फ्राइड राइस भनेर बताऊ
अहिले आलु र मूला पकाऊ
भरे मूला र आलु पकाऊ । ।


article supported by: Ranjan Karki

0 comments:

Post a Comment